काठमाडौं– तेस्रो दीपक गुप्ता मेमोरियल प्रतियोगिता (डिजिएमटी) क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ३४ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
जनकपुरको रंगभूमी मैदानमा नेपाल पुलिसले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको आर्मी १८.२ ओभरमा ८० रनमा अलआउट भयो। आर्मीका लागि ओपनर सागर पुनले १४ र राजेश पुलामीमगरले ३१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। रामनरेश गिरी, ललित राजवंशी र सुनील धमलाले २–२ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १८.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो। पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १९–१९ रन जोडे। यस्तै कप्तान मन्जित श्रेष्ठले २७ र ललित भन्डारीले १९ रन बटुले। त्यसअघि ओपरनद्वय सुनील धमला २ र अमित श्रेष्ठ १ रनमै आउट भएका थिए। बलिङतर्फ आर्मीका सोमपाल कामी, विक्रम शोव, सागर पुन र सहाब अलामले २–२ विकेट लिए।
उपाधिसँगै पुलिसले ३ लाख ११ हजार तथा आर्मीले १ सय ७१ रुपैयाँ पुस्कार पाए। आर्मीका सागर पुन म्यान अफ दि सिरिज हुँदै ३१ हजार जित्न सफल भए। उनले प्रतियोगिता भर १ सय १६ रन जोड्दा ८ विकेट लिए। उत्कृष्ट ब्याट्सम्यान पुलिसका आरिफ शेख (१ सय २० रन– सेमिफाइनलसम्म) र उत्कृष्ट बलर सहाब अलाम (९ विकेट– सेमिफाइनलसम्म) घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।