काठमाडौं–साझा पार्टीले संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको गरिमामा आँच पुर्याएको टिप्पणी गरेको छ।
राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्दा तथ्यमाथि राष्ट्रपतिले आँखा चिम्लनु विडम्वनापूर्ण रहेको साझा पार्टीकाे भनाइ छ। मन्त्रिपरिषदबाट आएको सिफारिसलाई राष्ट्रपतिबाट भएको अनुमोदनप्रति साझाले आपत्ति जनाएको हो।
राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयनका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेकालाई पठाइएको प्रति साझाले असन्तुष्टि व्यक्त गरेको छ। ‘आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो,’ साझा पार्टीको विज्ञप्तिमा भनिएको छ।
गौतमको मनोनयले आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास गरेकाे साझा पार्टीको बुझाइ छ। ‘लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो,' गौतमको मनोनयनप्रति तीव्र विरोध जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन’ भन्ने हठी सन्देश दिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।