काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टामेउविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। जसले अध्यक्ष बर्टामेउलाई राजीनामाका लागि दबाब सिर्जना भएको छ।
अविश्वासको प्रस्तावका लागि क्लब ब्यवस्थापनको निर्वाचनमा संलग्न हुनेमध्येबाट १६ हजार ५ सय २१ हस्ताक्षर आवश्यक पर्नेमा २० हजार ७ सय ३१ हस्ताक्षर अध्यक्षविरुद्ध बुझाइएको छ। अब १० दिनमा बुझाइएका हस्ताक्षरमाथिको जाँचपछि दुई तिहाइ सदस्यले ब्यबस्थापनविरुद्ध मत दिएमा बर्टामेउ अध्यक्षबाट हट्नुपर्नेछ। जसपछि नयाँ चुनाव हुनेछ।
सन् २०१० देखि २०१४ सम्म बार्सिलोना अध्यक्षमा सान्ड्रो रुसेल रहँदा बर्टामेउ उपाध्यक्ष थिए। रुसेलले राजीनामा दिएपछि बर्टामेउ अध्यक्षका रुपमा रहँदै आएका छन्।
क्लब ब्यवस्थापनमा बर्टामेउको काम राम्रो नभएको भन्दै निरन्तर आलोचना भइरहेको छ। कप्तान लियोनल मेस्सीले पनि क्लब छाड्ने प्रयास असफल भएपछि बर्टामेउविरुद्ध खुलेर बोलेका थिए। बार्सिलोनामा जेरार्ड पिके जस्ता खेलाडीले समेत अध्यक्ष बर्टामेउलाई राजीनामाका लागि सुझाव दिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।