काठमाडौं– सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतम बिहीबारबाट राष्ट्रिय सभा सदस्य भएका छन्। राष्ट्रपतिबाट मनोनित भएसँगै उनले राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्सिनाबाट सपथ लिँदै उनले ३ वर्षपछि फेरि सांसदको लोगो पाएका छन्।
बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार सञ्जय गौतमसँग पराजित गौतम घुमाउरो बाटो प्रयोग गर्दै सांसद भएका छन्।
सांसद भएसँगै गौतमले अब मासिक ६४ हजार ७० रूपैयाँ तलब पाउनेछन्। यसबाहेक उनले धारा र बिजुली शीर्षकमा २ हजार र टेलिफोन सुविधाबापत ३ हजार गरी थप ५ हजार रूपैयाँ पनि पाउनेछन्।
गौतमको काठमाडौंमा आफ्नै घर छ। काठमाडौंमा घर नहुनेले १८ हजार भत्ता पाउने गरेकोमा गौतमले यसको आधा अर्थात् ९ हजार भत्ता पाउनेछन्। योसमेत जोड्दा उनको मासिक आय ७८ हजार रूपैयाँ पुग्छ। त्यसबाहेक उनले मासिक १ हजार विशेष भत्ता पाउँछन्।
यसका अतिरिक्त संसद र संसदीय समिति बैठक बसेको दिन १ हजार रूपैयाँ बैठक भत्ता र १ हजार रूपैयाँ पारवहन खर्च पाउनेछन्।
गौतमले १२ हजार रूपैयाँ पार्टी लेबी बुझाउनुपर्नेछ। नेकपाले सांसदबाट १२ हजार रूपैयाँ लेबी उठाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।