काठमाडौं–खरिद मूल्यभन्दा दोब्बरमा प्याज बेचेर उपभोक्ता ठगी गर्ने बल्खु तरकारी बजारका २ व्यापारीलाई पक्राउ गरिएको छ।
बुधबार काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको हो।
प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा खरिद गरेको प्याज प्रतिकिलो १२० रुपैयाँसम्ममा बेचेका भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। त्यस्तै ती दुई पसलको २ सय बोराभन्दा बढी प्याज पनि थप अध्ययनका लागि सिलबन्दी गरिएको छ।
प्याजको मूल्यमा अस्वाभाविक वृद्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गरी बिलबिजकसहित ३ दिनभित्र उपस्थित हुन ६ व्यवसायीलाई निर्देशन दिएको थियो।
भारतले प्याज निकासीमा बन्देज लगाएको भोलिपल्टैबाट नेपाली बजारमा मूल्य आकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिको प्याजकेन्द्रित बजार अनुगमन बढाएका हुन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।