एजेन्सी–खगोलविद्हरुले शुक्र ग्रहमा जीवनको अस्तित्व रहेको हुन सक्ने बताएका छन्। ग्रहको वायुमण्डलमा ‘फोस्फिन’ ग्यास पाइएकाले त्यहाँको बादलमा सुक्ष्म जीव तैरिइरहेको हुनसक्ने अनुमान वैज्ञानिकहरुले गरेका हुन्।
फोस्फिन ग्यास एउटा फोस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको हुन्छ। पृथ्वीमा पनि फोस्फिनको सम्बन्ध प्राणीसँग जोडिएको हुन्छ। यो पेन्गुइनको पेटमा पाइने सुक्ष्म जीवसँग सम्बन्धित हुन्छ र कम अक्सिजन भएका स्थानमा पाइन्छ। फोस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ।
शुक्र ग्रहको सतहभन्दा ५० किलोमिटर माथिको वायुमण्डलमा फोस्फिन ग्यास किन छ भनेर बेलायतको कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रीब्स र उनका सहकर्मीहरुले अध्ययन गरिरहेका छन्।
उनीहरुले ‘नेचर एस्ट्रोनोमी’ नामको जर्नलमा शुक्र ग्रहमा फेला परेको फोस्फिन ग्यासका बारेमा आफ्नो अध्ययनलाई उल्लेख गरेका छन्। यो ग्यास प्राकृति हिसाबले नै बनेको हुनसक्ने उनीहरुको आँकलन छ।
यद्यपि वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवनको अस्तित्व छ भनेरै दाबी भने गरेका छैनन्। फोस्फिन ग्यास फेला परेको तथ्यलाई अझ अनुसन्धान गरिनुपर्ने उनीहरुको राय छ। उनीहरुले अमेरिकाको हवाईस्थित मौनाकेआ अब्जरभेटोरीमा जेम्स क्लार्क म्याक्सवेल टेलिस्कोप र चिलीको टेलिस्कोपको सहयोगले शुक्र ग्रहको अध्ययन गरेका थिए। यसबाटै शुक्र ग्रहमा फोस्फिन ग्यास धेरै मात्रा भएको पत्ता लागेको थियो।
शुक्र ग्रहको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ९० प्रतिशतभन्दा बढी छ। यहाँ वायुमण्डलीय दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ। यस्तै सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ। यसको अर्थ यसको सतहमा केही कुरा राख्ने हो भने सेकेण्डभरमै उम्लन्छ।
यस्तै, यहाँको बादल ९५ प्रतिशतसम्म सल्फ्युरिक एसिड छ, जुन पृथ्वीमा रहेका प्राणीको सेल्युलर संरचनाका लागि घातक मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।