काठमाडौं– हतियारसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–७ ठुलाडिही मोहरिया छापडाँडा बस्ने भिमबहादुर ठकुरीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान एकनाले बाह्रबोर बन्दुक, त्यसको २ थान टोटा, २ थान फलामको खाली टोटा, १ थान बारुद छर्रा भरेको टोटा, ८ सय ८० ग्राम बारुद, ३३ थान फलामको छर्रा (वेरिङ) ठूलो, ६५ थान फलामको छर्रा (वेरिङ) सानो, ६८ थान केप, १ थान ग्रिस डिव्वा र १ थान फलामको पाता प्रहरीले बरामद गरेको छ।
ठकुरीको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो।
यसैगरी स्याङजा, पुतलीबजार नगरपालिका–७ मोहरिया बस्ने ओम बहादुर हमाललाई १ थान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, १ थान खाली एकनाले भरुवा बन्दुक, ८ सय ८० ग्राम बारुद, ४८ थान पाते पट्काजस्तो देखिने वस्तु, ८० थान केप र १२ थान छर्रासहित पक्राउ गरिएको छ।
हमालको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो।
दुवै जनालाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।