काठमाडौं-जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोलीले विभिन्न अपराधमा संलग्न भई कैद तथा सजाय तोकिएका ३५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
विभिन्न अपराधमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका ३५ जना पक्राउ परेका हुन्। ठगी, बहु बिवाह, नागरिकता किर्ते, वन, सार्वजनिक अपराध तथा देवानी मुद्दाहरुमा समेत अदालतहरुबाट फैसला भई २ सयदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने गरी सजाय तोकिएको ३५ व्यक्तिहरु पक्राउ परेका हुन्।
विभिन्न अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीहरु कानुनी दायरामा ल्याउने अभियानअन्तर्गत उनीहरु पक्राउ परेको तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।
पक्राउ परेका सबै जनालाई तोकिएको कैद सजाय तथा जरिवाना जम्मा ४ लाख १६ हजार ३२५ रुपैयाँ भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। यस आर्थिक वर्षको हालसम्म तनहुँ प्रहरीले विभिन्न मुद्दाका १०४ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।