काठमाडौं-अपहरणको नाटक गरेर युवकदेखि प्रहरीसम्मलाई हैरानी दिने एक युवतीमा प्रहरी फन्दामा परेकी छिन्।
घटना भदौ २६ गतेको हो। बर्दिया ठाकुरबाबा नगरपालिका–४ मैनवाकी ३३ वर्षीया आशिककुमारी चौधरी नेपालगञ्ज बस्छिन्। नेपालगंज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित शान्ति चौधरीको घरमा भाडामा बस्दै आएकी उनले सानु दहित नामको फेसबुक आइडी खोलिन्। उक्त आइडीमा नवलपरासी बस्ने एक युवक जोडिन पुगे। ती युवक र सानु दहित बनेकी चौधरीबीच फेसबुकमै कुराकानी हुन थाल्यो।
युवक भने ती युवतीलाई भेट्न र भिडियो कलमा कुराकानी गर्न चाहन्थे। तर ती नक्कली सानु दहित बनेकी युवती भने भिडियो कलमा जोडिन र भेट्नभन्दा पन्छिन्थिन्। तर भदौ २६ गते ती युवतीले नवलपरासीका ती युवकलाई आफ्नो पोखरामा पनि घर रहेको, आफ्नै कार रहेको र कारमा पोखरा जादै गरेको बताइन्। त्यसपछि ती युवकलाई समेत पोखरा बोलाइन्। युवकले समेत उनको कुरामा सहमतl जनाए।
तर बीच बाटो चन्द्रौटामा पुगेपछि भने आफ्नो साथमा रहेको, सुन, मोबाइल, गाडीको चाबी सबै अपरिचित व्यक्तिले लगेको र आफूलाई समेत अपहरण गरेर कोठामा लगेर थुनेको भन्दै युवकलाई भनिन्। तर युवकले नपत्याएपछि यो कुरा मैले प्रहरीलाई समेत खबर गरिसकेको छु भन्दै उनले फोनमार्फत् प्रहरीलाई आफू अपहरणमा परेको बताइन्।
त्यसपछि प्रहरी उनको अनुसन्धानमा जुटेको थियो। अनुसन्धानका क्रममा ती युवती अपहरणमा नपरेको भई युवकले भेट्न खोजेपछि अपरहणको नाटक गरेर प्रहरीलाई समेत खबर गरी आफ्नै कोठामा बसेको पाइएको थियो। जिल्ला प्रहरी कार्यालय नेपालगञ्जले अपहरणको नाटक गर्ने चौधरीलाई उनकै नेपालगञ्जस्थित कोठाबाट पक्राउ गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।