काठमाडौं– काठमाडाैंकाे टोखा तथा स्वयम्भू एवं झापा र सर्लाहीबाट अवैध लागुऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिका–९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागुऔषध चरेसजस्तो देखिने पोल्यानसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका-३ घर भई काठमाडौं बल्खु बस्ने ४२ वर्षीय सानुकान्छा तामाङ र थाक्रे गाउँपालिका–२ घर भई हाल बल्खु बस्ने २३ वर्षीय दिलकुमारी तामाङ छन्।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकाप घर भएका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा बस्ने २७ वर्षीय सागर लामा छन् ।
विषेश सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बा २ ज ५७०९ नम्बरको ट्याक्सीमा सवार पौडेलले काखमा बोकेको कार्टुनभित्र उक्त गाँजा फेला पारी ट्याक्सीमा सवार लामालाई समेत पक्राउ गरेको हो ।
यस्तै झापा, माङसेबुङ गाउँपालिका-६ घर भई दमक नगरपालिका–१ मामा चोक डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई ४ केजी २५ ग्राम लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरी राईलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका–१ अदुवा पुलबाट १४ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने मिसाइएको पदार्थ हित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय संदिप धिमाल, आकाश राई र आशिष राई रहेका छन् ।
साथै झापा, मेचीनगर नगरपालिका-१३ स्थित ईलाम रोडबाट ८.५ ग्राम ब्राउनसुगरजस्तो देखिने मिसाइलो पदार्थसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१२ बस्ने २३ वर्षीय राजन श्रेष्ठ र सोही नगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
सर्लाही, पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी पर्साबाट गस्तीमा गएको प्रहरीलाई देखेर पर्सातर्फ आउँदै गरेको ना ४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडी भागेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकमा कालो प्लाष्टिकमा बेरिएको उक्त लागुऔषध फेला पारी बरामद गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।