काठमाडौं-ललितपुरस्थित पुल्चोकमा राताे मच्छिन्द्रनाथको रथयात्राका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरी कुट्ने सबैजना रिहा भएका छन्।
पक्राउ परेका २० जनामध्ये १७ जनालाई जनही ५ हजार धरौटीमा रिहा गर्ने आदेश जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको हो । बाँकी तीन जना भने निर्दोष देखिएपछि बिना धरौटी यसअघि नै रिहा भएका थिए।
जिल्ला प्रशासनका आदेशसँगै १७ जनालाई नै जनही ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले नेपाल लाइभलाई जानकारी दिए। पक्राउ परेकामध्ये केही भने यसअघि नै कोही बिरामी भएर र कोरोना देखिएपछि आफन्तको जिम्मा लगाइएको थियो।
कोरोनाका कारण लगाइएको निधेषज्ञाकाबीच रथ तान्न लागेपछि प्रहरीले रोकेको थियो। सो क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि रथ तान्न गएका व्यक्तिले निर्घात कुटपिट गरेका थिए। कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।