काठमाडौं–नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत पारेको आरोप लगाएका छन्।
बिपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिपी कोइरालाको योगदान’ विषयक भर्चुअल संवादमा निधिले भने, ‘सरकारका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत हुनु चिन्ताको विषय हो।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सही रूपमा अबलम्बन गर्न नसक्दा छिमेकी मुलुक भारतसँगको सम्बन्ध अत्यन्तै जटिल मोडमा पुगेको निधिको निष्कर्ष थियो।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखसमेत रहेका निधिले भने, ‘अहिलेको सरकारले राष्ट्रिय हितलाई पनि हेरेको छैन। समानताका कुरालाई पनि हेरेको छैन।’
लोकतन्त्र, धार्मिक, सांस्कृतिक, सामाजिक, मूल्य–मान्यतालाई सरकारले कुल्चेको उनले आरोप लगाए। नेपालले उत्तर र दक्षिणका दुवै मुलुकसँग समान विदेश नीति अपनाउनुपर्ने उनको तर्क छ। निधिले भने, ‘कम्युनिष्ट नेतृत्वको सरकार चीनसँग नजिकिएको र भारतसँग टाढिदै गएको छ। चीनको सम्मुन्नतिबाट नेपालले आर्थिक लाभ लिनुपर्ने निधिले बताए।
बिपी कोइरालाले अन्तर्राष्ट्रिय लोकतान्त्रिक र समाजवादी आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको स्मरण गर्दै निधिले भने, ‘बिपीको कदम नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विदेश नीतिको रूपमा रहेको थियो।’ बर्माको प्रजातान्त्रिक आन्दोलन र बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई बिपीले साथ दिएको निधिले चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।