बार्सिलोना– स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाका 'लिजेन्ड' मिडफिल्डर आन्द्रेस इनिस्टाले सिजनको अन्त्यबाट क्लब छाड्ने घोषणा गरेका छन्। सन् २००२ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका इनिस्टाले सिजनको अन्त्यबाट क्लब छाड्ने शुकबार घोषणा गरेका हुन्।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनले क्लबको सिनियर टिममा १६ सिजन खेलिसकेका छन्। ३३ वर्षीय उनले क्लबका लागि ३१ उपाधि जितेका थिए। उनले स्पेनिस राष्ट्रिय टिमका लागि ३ मुख्य उपाधि समेत जितेका थिए।
चाइनिज सुपर लिगमा जाने चर्चा चलेका उनले बार्सिलोना विरुद्ध कहिल्यै नखेल्ने समेत बताएका छन्। 'मैले बार्सिलोना विरुद्ध कहिल्यै नखेल्ने बताएको थिएँ। त्यसैले अब युरोपबाट फुटबल खेल्दिन,' उनले भने।

स्पेनले सन् २०१० को विश्वकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए। यस्तै स्पेनले युरो २००८ र युरो २०१२ जित्दा पनि उनको प्रदर्शन प्रेरणादायी थियो।
'मेरो लागि यो कठिन दिन हो। सवैसँग विदा माग्दा भावुक भएको छु,' उनले पत्रकार सम्मेलनमा भने।
सन् २००२ मा बार्सिलोनाको ए टिममा डेब्यु गरेका उनले ४ सय ३५ खेलमा ३५ गोल गरिसकेका छन्। स्पेनिस राष्ट्रिय टिममा उनले सन् २००६ मा डेब्यु गरेका थिए। त्यसयता उनले १ सय २५ क्याप जित्दा २५ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।