फाइल फोटो
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको कार्यकारी अधिकार सहितको जिम्मेवारी पाएका छन्।
असार १० गते देखि जारी स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। शुक्रबार सकिएको बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्री सरकारका काममा केन्द्रित भएर अघि बढ्ने र प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी नेतृत्वको लिने गरि कार्य विभाजन भएको छ।’
पार्टी र सरकार बीचको अन्तरसम्बन्धमा समस्या देखिएको बैठकमा धारणा आएका थिए। सरकारका दैनिक कार्यमा पार्टीको हस्तक्षेप नहुने तर राष्ट्रिय महत्वका विषयमा पार्टीमा छलफल हुनुपर्ने निर्णय गरिएको छ।
वैशाखमा ल्याइएको अध्यादेश पार्टीको निर्णयमा भएको थिएन। पार्टीभित्र चर्को विरोध भएपछि सरकारले अध्यादेश फिर्ता लिएको थियो। साथै नक्सा सार्वजनिक गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी जस लिने खोजेको भन्दै असन्तुष्टि बाहिरिएका थिए।
कतिपय विधेयकका सन्दर्भमा पनि पार्टीभित्र आलोचना हुने गरेको छ।
सरकार र पार्टीको दुबै कार्यकारी पद प्रधानमन्त्री केपी शर्माले लिँदा पार्टी सांगठनिक प्रक्रियामा समस्या आएको भन्दै दलको कार्यकारी पद प्रचण्डले लिनुपर्ने आवाज उठेको थियो। यसअघि गत मंसिर ४ गतेको सचिवालय बैठकले कार्यकारी अधिकार प्रचण्डलाई दिइएको भनिए पनि कार्यान्वयन भएको थिएन।
बैठक सञ्चालनको अधिकार समेत प्रचण्डलाई नभएपछि असन्तुष्टि बढ्दै गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।