प्रतिनिधिमूलक तस्बिर
काठमाडौं- केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ। कोठा भाडा लिएर बस्न होस् वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने ठाउँमा अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ।
कोरोना संक्रमणका कारण ४ महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घर खाली भएका हुन्। कोरोनाले व्यापार/व्यवसाय धराशायी बन्न थालेपछि सटर खाली हुन थालेका छन् भने अध्ययनका लागि उपत्यका आएका विद्यार्थी एवं अन्य कामले यहाँ रहेका नागरिक गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याट खाली भएका हुन्।
काठमाडौंमा नै भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ। यति मात्रै होइन, काठमाडौंको बसाई टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढेको बताइएको छ। होटल, रेस्टुरेन्ट, होस्टलदेखि अधिकांश व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन्।
कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन्। काठमाडौं अनामनगरका एक घरधनी हरिप्रसाद पराजुली उपत्यकाभर नै एकनासको समस्या रहेको बताउँछन्।
कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म यहाँका घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले लकडाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताएका हुन्। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कोरोनासँगै लड्दै अगाडि बढ्ने प्रयत्न गर्नुपर्ने उनको सुझाव छ।
अहिले काठमाडौँका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ। पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए। कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा बढी भाडा असुल्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ।
डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन थालेका छन्। भाडामा बस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई भने समस्या देखिएको छ। कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।