फाइल तस्बिर
काठमाडाैं–अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ।
यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात् मलमास परेको छ। काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बँच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए।
पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ। एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।
कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो। रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी गरिएकाे छ।
अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे। मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।