काठमाडौं- भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनको शैली र तरिका फेरिएको छ। अनुसन्धान गर्ने निकायले खोजी गर्न थालेपछि भ्रष्टाचार गर्ने व्यक्तिहरु पनि यस्तो चलाखी गर्न थालेका हुन्। तर भ्रष्टाचार गर्नेले जति चलाखी गरेपनि अनुसन्धान गर्ने निकायले प्रभावकारी रुपमा अनुसन्धान गरेका पत्ता लगाई छाड्छ।
अनुसन्धान गर्ने निकायलाई नै चक्मा दिने गरी संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्ताले भ्रष्टाचार गरेको पाइएको छ। उनले गैर कानुनीरुपमा आर्जन गरेको सम्पत्ति लुकाउन १३ जना आफन्तको सहयोग लिएका थिए। अन्ततः उनी अख्तियारको फन्दामा परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर काशीप्रसाद गुप्तासमेत १३ जना भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरूविरुद्ध आयोगले १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर (सिडिई) काशीप्रसाद गुप्ताले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुँदा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्नेसमेतको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अख्तियारले १६ करोड बराबरको गैरकानुनी सम्पत्ति फेला पारेको हो।
काशीप्रसाद गुप्ता २०३८ पुस २ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। २०७६ असार ५ मा सिडिई पदबाट अवकाश पाएका थिए। उनले यो अवधिमा १७ करोड बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ।
अख्तियारले यसरी आर्जन गरेको सम्पत्ति श्रीमती मीता गुप्तासमेत १३ जनाको नाममा लुकाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
तत्कालीन सिडिई. गुप्ताले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७७ पुससम्म वैध आय १ करोड ११ लाख ६९ हजार ९ सय ६२ आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। उक्त अवधिमा उनले १७ करोड ८४ लाख २६ हजार ४ सय ५९ रुपैया आर्जन गरेको आरोपपत्रमा उल्लेख छ।
खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४ सय ९६ सम्पतीको स्रोत खुल्न नआएको आरोपपत्रमा उल्लेख छ। स्रोत खुल्न नसकेको त्यस्तो खर्च तथा लगानी निजको पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापन समेत गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
आरोपी काशीप्रसाद गुप्ताको उक्त कार्य भ्रष्टाचार निवारण ऐनअनुसार कैद र सजाय गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
गुप्ताको एकासगोलकी पत्नी मिता गुप्ताले आफ्नो पतिले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले आफ्नो तथा आफन्तको नाममा कारोबार गरेको दावी आरोपपत्रमा गरेको छ।
श्रीमती मिता गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गर्ने तथा त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग, दुरूत्साहन गर्ने समेत कार्यमा प्रत्यक्ष संलग्न रही साबिक भ्रष्टाचार निवारण ऐनअनुसार कैद र सजाय गर्न अख्तियारको आरोपपत्रमा माग गरिएको छ।
श्रीमतीलाई मतियारको कसुरमा बिगो पनि १६ करोड ७२ लाख ५६ हजार नै दाबी अख्तियारले गरेको छ।
गुप्ताको सम्पत्ति आफन्तको खातामा १० करोड भेटियो
अख्तियारले काशीप्रसाद गुप्ताले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको भन्दै आफन्तहरु अन्जुकुमारी महतो, उदितनारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाहा, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्तालाई पनि मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरुको बैंक खातावाट गुप्ताको १० करोड ४४ लाख ४३ हजार ७ सय ८३ रकम लुकाई छिपाई राखेको अभियोगपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुलाई पनि भ्रष्टाचार निवारण ऐनअनुसार सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।