काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणलाई कारबाही गर्न नयाँ कानुन ल्याउन निर्देशन दिएका छन्। युवतीमाथि एसिड आक्रमण गर्नु जघन्य अपराध भएको भन्दै प्रधानमन्त्रीले दोषीलाई कारबाही गर्न १५ दिनभित्र कानुनी मस्यौदा तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
देशैभरबाट एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले उपचारको सबै खर्च सरकारले व्यहोर्ने बताएका छन्। त्यस्ता पिडित बिरामीलाई वीर र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरिने भएको हो।
एसिड प्रहारबाट पीडितको उपचार, शिक्षा र जीविकोपार्जनको जिम्मा सरकारले लिने ओलीले घोषणा गरेका छन्। शारीरिक, मानसिक र सामाजिक लगायत बहुपक्षीय प्रभाव पार्ने घटनाका अपराधीको सम्पति रोक्का गरी पीडितलाई क्षतिपूर्ति समेत भराउने कानूनी प्रबन्ध गरिने तयारी गरिएको छ।
कार्यक्रममा सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरुको समेत उपस्थितिमा ओलीले पढ्नेलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने बताएका हुन्। सिपमुलक तालिम दिई सहुलियतपूर्ण ऋण समेत उपलब्ध गराउने भएको छ। छलफलमा गृहमन्त्री रामबहादुर थापा, कानून मन्त्री शिवमाया तुम्बाहाम्फे, महान्याधिवक्ता अग्नीप्रसाद खरेल, शिक्षा,स्वास्थ्य, अर्थ मन्त्रालयका सचिवहरुको समेत उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।