काठमाडौं-अमेरिका पठाउने भन्दै फिलिपिन्स पुर्याएर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरका ३२ वर्षीय रवि भन्ने रिकेश महर्जन र काभ्रेको नमोबुद्ध नगरपालिका-९ कि २२ वर्षीया कमला लामा छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूराेको टोलीले उनीहरुलाई भदौ २२ र २३ गते पक्राउ गरेको हो। उनीहरुले दुई जनालाई गत वर्षको साउनमा अमेरिका पठाउने भन्दै ४१ लाख ६० हजार रुपैयाँ लिएर अलपत्र पारेको ब्यूरोले जनाएको छ।
उक्त रकम लिइसकेपछि काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिला पुर्याएर शारीरिक तथा मानसिक यातना दिई बन्धक राखेको अवस्थामा उनीहरु नेपाल फर्कन सफल भएका थिए। त्यसपछि ब्यूरोमा लिएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।