काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन्। पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले सबै नेपालीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताए।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहँदै जितिया पर्व मनाउन आह्वानसमेत गरेका छन्।
आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ। सप्तमीको बिहान व्रतालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंलाको पातमा राखेर खोलामा बगाउने चलन छ।
सभामुखको पनि शुभकामना
यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले यो वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण अवस्था असामान्य रहेकाले उच्च सतर्कतासाथ पर्व मनाउन आग्रह गरेका छन्। जितियाको शुभकामना दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मनाइने विभिन्न चाडपर्वले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याउँदै आएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।