काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले रिटायर भएका सेनाहरुले पनि ठेलागाडा चलाएको देखेको उल्लेख गरेका छन्। सेनाको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको अवसरमा प्रधानसेनापति थापाले यस्तो बताएका हुन्। सैनिक कल्याणकारी कोषको महत्व दर्शाउँदै उनले सो कुरा उल्लेख गरेका थिए।
'मैले यहाँबाट रिटायर्ड भएर गइसकेका कैयौं सिपाहीहरुलाई भोटाहिटीमा ठेलागाडा चलाएको देखेको छु। त्यो किन छ?,' उनले थपे, 'हामीले निवृत्त सैनिकका परिवारको शिक्षा, स्वास्थ्य लगायतका चाहना पूरा गर्न सकेनौं भने केही न केही विकल्प खोज्नैपर्छ। हो, यही विकल्पको परिणाम सैनिक कल्याणकारी कोष हो।'
थापाको द्विवार्षिकीका अवसरमा बिहान वीर स्मारक छाउनी तथा सैनिक स्मारक सैनिक मञ्चमा गई रिद लेईङ्ग तथा श्रद्धाञ्जली अर्पण गरेका थिए। जङ्गी अड्डामा आयोजित कार्यक्रममा उनले नेपाली सेनालाई प्रणाली र पद्धतिमा सञ्चालन हुने संस्थाको रुपमा विकास गर्दै लैजाने आधारका रुपमा विगत दुई वर्षमा तयार भएका र कार्यान्वयन गरिएका विभिन्न कार्यविधि, निर्देशिका, तालिमका म्यानुअल र कमाण्डर एवं स्टाफहरुका लागि आवश्यक सन्दर्भ पुस्तिकाहरुको संग्रह लगायत सिपाही पाक्षिक विशेषाङ्कको विमोचन गरेका थिए। उनले लिडर्स रिडिङ कलेक्सनका त्कृष्ट लेखकहरुलाई पुरस्कारसमेत वितरण गरेका थिए।
समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सेनाका सबै युनिटमा लाइभ मल्टिकास्ट सम्बोधन गर्दै प्रधानसेनापति थापाले कार्यकालको पहिलो र दोश्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरुको समीक्षा गर्नुका साथै आगामी वर्षलाई 'सुदृढीकरण र दिगोपनाको वर्ष' घोषणा गरेका थिए।
कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले संगठनभित्र रहेका कमी कमजोरीहरु संगठन आफैले पहिचान गरी त्यसलाई सही मार्गमा ल्याउने प्रणालीको विकास गरिएबाट संगठनलाई स्वतन्त्र रुपमा क्रियाशील हुन र प्रणालीलाई बलियो बनाउन थप मद्दत पुगेको बताएका थिए।
सोही अवसरमा प्रधानसेनापति थापाले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तर्क्रियासमेत गरेका थिए।
प्रधान सेनापति थापाको सम्बोधनको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।