डडेल्धुरा- तलब निकासा नभएको भन्दै डडेल्धुराका शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा बुधबार तालाबन्दी गरेका छन्। शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिइँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले तलब निकासा नगरिएको भन्दै शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी गरेका हुन्।
देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ठ रकम निकासा हुने गरेको थियो। तर यो वर्ष दुई महिना बितिसक्दा पनि रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिका संयोजक केशवबहादुर साउदले बताए। उनले भने, ‘हरेक वर्ष असारमै एकमुष्ठ निकासा हुने रकम अहिले पनि भएको छैन, गत महिना ज्ञापनप्रत्र पठाएका थियौँ। केही सुनुवाई भएन ताला लगायौँ।’
एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफूहरूको तलबको कुनै टुंगो नलागेकोले विभिन्न माग राखी आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ। यसअघि आफूहरूले शिक्षा इकाईमार्फत शिक्षा मन्त्रीलाई उक्त विषयमा ज्ञापनपत्र पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएको समेत बताएका छन्। तलब नपाउँदा घरपरिवार धान्न मुस्किल भएको गन्यापधुराका शिक्षक टेकराज कापडीले गुनासो गुनासो थियो। उनले भने, ‘आफूसँगैका शिक्षकले तलब आइराछ। हाम्रो निकासा नै भा छैन के गर्ने? आउँछ कि आउँदैन केही जानकारी छैन। घरपरिवार धान्न मुस्किल नै भा छ।’
सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ठ रकम प्रदान गर्दै आएको थियो। यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा भएको छैन।
यसबारे शिक्षा समन्वय इकाई डडेल्धुरामा पनि कुनै आधिकारी पत्र आएको शिक्षा समन्वय इकाई डडेल्धुराका निमित्त प्रमुख भूपेन्द्रविक्रम शाहीले बताए। उनले भने, ‘शिक्षा मन्त्रालयले अर्थलाई भनिसकेको जानकारी पाएका छौं। साथीहरुले ताला लगाइ दिए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।