काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भदौ २६ गते तय भएको स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका विषयमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भइरहेको छ। स्थायी कमिटिमा छलफल गर्ने विषयमा साझा धारणा बनाउन दुवै अध्यक्षबीच बिहान साढे ११ बजेदेखि छलफल भइरहेकाे हो।
पार्टीको विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो। त्यहीँ कार्यदलले हप्ता दिन लगाएर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाई सचिवालय बैठकमा समेत छलफल भईसकेको छ।
प्रतिवेदनका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले १५ बुँदामा आफ्नो असन्तुष्टि सचिवालय बैठकमा राखिसकेका छन्। आफूले राखेका असन्तुष्टि स्पष्ट पारेरमात्रै कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा पेश गर्नुपर्ने पक्षमा नेपाल छन्। त्यहीँ विषयलाई समेत सम्बोधन हुने गरी स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका विषयमा ओली र प्रचण्डबीच छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा‘ ‘जुगल’ले बताए। बिहान साढे ११ बजेदेखि दुवै शीर्ष नेताबीच छलफल जारी रहेको सापकोटाले पुष्टि गरे।
स्थायी कमिटी बैठक धेरै दिन नलम्ब्याउने तयारी गरिएको छ। स्थायी कमिटी बैठक गत असार १० गतेदेखि जारी भएकाले धेरै दिन नलम्ब्याउने तयारी गरिएको हो। स्थायी कमिटी बैठक सकिएलगत्तै असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने सुझाव कार्यदलले दिएको छ।
दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा समेत छलफल गर्ने बुझिएको छ। कार्यदलले मन्त्रिपरिषद् पुनर्गठनको विषयसमेत उल्लेख गरेकाले दुवै नेताले यसबारेसमेत परामर्श गर्न सक्ने आँकलन गरिएको छ। अहिले अर्थ,सञ्चार र सहरी विकास मन्त्रालय रिक्त छन्। अरु प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई हटाएर नयाँ जिम्मेवारी दिने विषयमा समेत पार्टीमा छलफल भईरहेको छ । तर, कुन–कुन मन्त्रीलाई हटाउने भन्ने विषयमा पार्टीले निर्णय गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।