काठमाडौं- भक्तपुरमा सड्न थालेको एक व्यक्तिको शव भेटिएको छ। भक्तपुरको नालिन्चोक खत्री गाउँस्थित सानो खोल्सा किनारमा शव फेला परेको हो।
उक्त शव अच्युत खत्रीको पाखो बारीमा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शवको टाउकोको भाग पूर्ण रुपमा सडिसकेको छ। त्यस्तै शरीरको भागमा पनि सड्न थालिसकेको छ। शरीर पूरै सडेकाले लिंग समेत महिला वा पुरुष भन्ने समेत खुल्न नसकेकोे प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुर पठाइएको छ।
मृतकको पहिचान भएपछि प्रहरीले अनुसन्धान कार्य जटिल भएको भन्दै हुलियासहित शवको विवरण सार्वजनिक सहयोगको अपिल प्रहरीले गरेको छ।
प्रहरीले सार्वजनिक गरेको हुलिया अनुसार ५ फिट ४ ईन्च उचाई, निलो जिन्स पाइन्ट, कालो भुईमा रातो धर्का भएको ज्याकेट, कालो टि सर्ट लगाएको टाउकोको भाग पूर्ण रुपमा सडी गली सकेको, शरीरको भाग पूर्ण रुपमा सडी गली नसकेको देखिएता पनि लिङ्ग छुट्याउन नसकिने अवस्थामा अन्दाजी ३० बर्ष जस्तो देखिने उल्लेख छ। यो हुलियासँग मिल्दोजुल्दो कोही व्यक्ति हराएको भए सम्पर्कमा आउन भक्तपुर प्रहरीले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।