काठमाडौं- नक्कली प्रेस कार्ड छापेर बेचेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बागबजारको कालिका प्रिन्टर्सबाट सोमबार पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार सार्वजनिक गरेको हो।
सार्वजनिक गरिएकाहरुमा बर्दघाट नगरपालिका-१३ घर भई काठमाडौं रातोपुल बस्ने कालिका प्रिन्टर्सका सञ्चालक ३५ वर्षीय लक्ष्मण न्यौपाने, बर्दियाको राजापुर नगरपालिका-१० घर भई कोटेश्वर बस्ने २३ वर्षीय श्रीराम खड्का, कावासोती नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने २९ वर्षीय रमेशकुमार रेग्मी र स्याङ्जाको जगत्रदेबी नगरपालिका-९ घर भई टोखा बस्ने ३९ वर्षीय राजेन्द्रराज भण्डारी छन्।
उनीहरुले कोरोना भाइरसका कारण जारी निषेधाज्ञामा हिँडडुल गर्नका लागि नक्कली प्रेस पास बनाएर बेच्ने गरेको पाइएको छ। उनीहरु प्रेसकार्डदेखि अस्पतालको समेत नक्कली कार्ड बनाउने गरेको प्रहरीले जनाएको छ। यसरी बनाइएका कार्ड ५ सयका दरले बिक्री हुँदै आएका थिए।
प्रहरीले उक्त प्रिन्टर्समा छापा मारेर विभिन्न मिडियाका १० थान नक्कली प्रेसकार्ड, विभिन्न अस्पतालका २५ गान नक्कली कार्ड, प्रिन्टिङ प्रेसको नक्कली परिचयपत्र ३ थान, कलर मेसिन, स्क्यानर मेसिन, पिन्टर, ल्यापटलगायतका सामाग्री बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।