काठमाडौं- प्रहरीले छुट्टाछुट्टै ठाउँबाट २६ किलो लागुऔषध अफिमसहित पाँचजनालाई पक्राउ गरेको छ।
जाजरकोट नलगाड नगरपालिका–२ छेप्कास्थित सडकबाट करिब १० किलो अवैध लागूऔषध अफिम र नगद ५१ हजार ९ सय ६० रुपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका–३ बस्ने ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने ५५ वर्षीय हरिचन्द्र डाँगी रहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी उनीहरुलाई जाँच गर्ने क्रममा उक्त अफिमसहित फेला पारी पक्राउ गरेको हो।
आठबिसकोट नगरपालिका–५ जलिगार्डबाट १६ किलो अवैध लागूऔषध अफिमसहित जाजरकोट नलगार्ड नगरपालिका-९ बस्ने ३७ वर्षीय प्रेम बहादुर सिंहलगायत ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्यूरो र जिल्ला प्रहरी कार्यालय रुकुम(पश्चिम)बाट खटिएको प्रहरीले उक्त अफिमसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।