एजेन्सी–अमेरिकाको वाशिङटन युनिभर्सिटीको स्वास्थ्य संस्थानले कोरोना भाइरस संक्रमणका कारण सन् २०२० को अन्त्यसम्ममा ४ लाखभन्दा बढी मानिसको मृत्यु हुनसक्ने आँकलन गरेको छ। यो संख्या हालको मृतकको संख्याभन्दा दोब्बर बढी हो। हाल अमेरिकामा १ लाख ८७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६१ लाख ९८ हजार ९ सय ९६ छ।
उक्त संस्थाले आगामी डिसेम्बर महिनामा हरेक दिन ३ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ।
रोयटर्सका अनुसार मास्क लगाउने नियमलाई गम्भीरतापूर्वक लिने हो भने मृतकको संख्या ३० प्रतिशतले घट्न सक्ने उल्लेख गरिएको छ। अमेरिकामा ठूलो समूहले मास्कको विरोध गर्दै आएको छ।
अमेरिकामा आइएचएमई मोडलद्वारा मृत्युदर निकाल्ने गरिन्छ। यो मोडल ह्वाइटहाउसको कोरोना भाइरस टास्कफोर्सद्वारा तयार गरिएको हो।
हाल अमेरिकामा दैनिक ८ सय ५० भन्दा बढी मानिसको संक्रमणका कारण मृत्यु भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।