ललितपुर- शुक्रबार राति १० बजेबाट ललितपुरमा लगाइएको कर्फ्यू हट्ने भएसँगै ललितपुरका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुनेछ। निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने जानकारी दिइएको छ। निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन पाइँदैन।
रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरिसकेको र केही समयमापछि निर्णय सार्वजनिक गरिने स्रोतले जानकारी दियो।
निषेधाज्ञा बेला रथ तान्दा बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडप भएको थियो। झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको थियो। त्यसपछि भने स्थिति सामान्य भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।