काठमाडौं- ललितपुरमा खटिएका ट्राफिक प्रहरी कमल घिमिरेमाथि हातपात गर्ने ९ जनामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीले थप ७ दिनको म्याद पाएको छ। ललितपुर जिल्ला अदालतले उनीहरूमाथि अनुसन्धान गर्न ७ दिनको म्याद दिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
ड्युटीमा खटिएका ट्राफिक प्रहरी घिमिरेमाथि हातपात गर्ने ९ जनालाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो।
म्याद थप भएका आरोपीमा ललितपुर मनपा वडा १६ गावाहाल, वर्ष ४० का महेश बज्राचार्य, -ललितपुर-११ बंगलामुखीका वर्ष ३९ का पृथविन्दु महर्जन, वडा नम्बर २१ का ३८ वर्षीय अशोज कुमार महर्जन, वडा ६ का ३६ वर्षीय रवि शाक्य, वडा नम्बर १६ का ४० वर्षीय रविन शाक्य छन्।
यस्तै महालक्ष्मी नपा-१ का सुविन शाक्य, इमाडोलका ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमीका श्याम श्रेष्ठ र कामनपा १६का यादवलाल कायस्थ छन्।
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा प्रहरीसँग झडप भएपछि उनीहरूले ट्राफिक प्रहरी घिमिरेमाथि आक्रमण गरेका थिए। उनको टाउको र हातमा चोट लागेको थियो।
निषेधाज्ञाको उल्लंघन गरेर रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।