काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोले पूर्ण क्षति भएका घर सरकारले बनाइदिने बताएका छन्। बाग्लुङको ढोरपाटन नगरपालिकाका विभिन्न वडामा बाढीपहिरोको क्षति अवलोकन गर्न र राहत वितरण गर्न शुक्रबार ढोरपाटन पुगेका मन्त्री थापाले सो कुरा बताएका हुन्।
बाढीपहिरोमा क्षतिग्रस्त घरहरु सरकारले बनाइदिने भन्दै मन्त्री थापाले भने, ‘पूर्ण क्षति भएका घर सरकारले बनाइदिन्छ। तपाईंहरु आफैं बनाउन चाहानुहुन्छ भने सरकारले ३ लाख रुपैयाँ राहत दिन्छ। थप २ लाख ऋणको पनि व्यवस्था सरकारले गर्छ।’
त्यस्तै मृतकको प्रतिपरिवारलाई २ लाख रुपैयाँ राहत स्वरुप दिइने पनि मन्त्री थापाले बताए। तत्कालका लागि केही राहत सामाग्री लिएर ढोरपाटन पुगेका मन्त्री थापाले स्थानीय पीडितसँग भने, ‘हामी तपाईंहरुको साथमा छौं। यही प्रतिबद्धता व्यक्त गर्न यहाँ आएको हो। दुःखको बेला जनतालाई साथ सहयोग र उद्धार गर्नु सरकारको दायित्व हो। जनताको सरकारको प्रतिनिधित्वका हिसाबले तत्काल केही राहत सामाग्री लिएर आएका छौं।’
बाढी पहिरोले क्षतिग्रस्त भएका विद्यालय, सडक, पुल, स्वास्थ्य चौकी लगायतका संरचना पनि सम्बन्धीत मन्त्रालयको समन्वयमा चाँडै बन्ने उनले प्रतिबद्धता जाहेर गरे।


मन्त्री थापासहितको टोली बिहीबार नै ढोरपाटन जान भनेर नेपाल सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ लागेको थियो। तर मौसम खराब भएपछि पोखराबाटै काठमाडौं फर्किएको थियो।
भदौ १७ गते राती आएको बाढीपहिरोका कारण ढोरपाटनका ७६ घर पूर्ण रुपमा क्षति भएका छन्। बाढीमा बेपत्ता भएका १४ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भेटिएका शवमध्ये चार जनाको मात्र सनाखत भएको छ। बाढीमा बेपत्ता भएकाको सङ्ख्या अझै यकिन छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।