मंगलबारे,इलाम– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई ४–३ गोल अन्तरले हराउँदै थ्रीस्टारले सेमिफाइनलका लागि आफ्नो यात्रा सुनिश्चित गरेको हो। सो जीतसँगै थ्रीस्टारले शनिबार हुने सेमिफाइनलमा सशस्त्र प्रहरी बलको एपिएफसँगको भेट पक्का गरेको छ।
निर्धारित समयमा दुवैतर्फबाट एकएक गोल भएपछि १५ मिनेट समय थप गरिएको थियो। थप समयमा पनि कुनै गोल हुन नसकेपछि टाइ बे्रकरका आधारमा नतिजा लिइएको थियो। पुलिसका तर्फबाट २७ मिनेटमा अग्रता लिइएको थियो। नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रेजिन सुब्बाले सहजै जाली चुमाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको थ्रिस्टार दोस्रो हाफमा भने खेलमा फर्कियो। थ्रीस्टारले ७३ औं मिनेटमा जवाफी गोल फर्कायो। फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै थ्रीस्टारका रजिन धिमाले सहजै जाली चुमाएका थिए।
टाइब्रेरकरमा थ्रीस्टारका कप्तान निराजन खड्का, विमल घर्ती मगर, रजिन र रुपेश केसीले गोल गरे। सुनिल बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे।
पुलिसका तर्फबाट भने रेजिन, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे । सुमन लामा र हेम तामाङको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अघिल्लो चरण उक्लिन मद्दत गरे । खेलको ‘म्यान अफ दि म्याच’ समेत न्यौपाने नै घोषित हुँदै रु १० हजार र चाँदीको पदक प्राप्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।