काठमाडौं–ललितपुरका १९ वटा जातीय संस्थाहरुले मलमासअगावै जात्रा सम्पन्न गर्ने गरी तयारी अघि बढिरहेको अवस्थामा यही भदौ १८ गते केही अनियन्त्रित समूहले अव्यस्थित रुपमा रातो मच्छिन्द्रनाथको रथ तान्ने प्रयास गरेको भन्दै भत्र्सना गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले रथसँग सम्बन्धित सरोकारवालाहरुको गत भदौ ११ को बैठकमा मलमासअगावै जात्रा सम्पन्न गर्ने र त्यसका लागि गुठी संस्थानका विज्ञसँगको परामर्शबाट आएको निष्कर्षलाई सबैको उपस्थितिमा हुने बैठकबाट पारित गरी सोहीअनुसार रथयात्रा सम्पन्न गर्ने सहमतिअनुसार काम भइरहेको जनाएका छन्।
कोभिड १९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी यो वर्ष सम्बन्धित सबैको सहमतिमा मच्छिन्द्रनाथको सबै विधि र प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने पनि उनीहरुले जनाएका छन्।
भदौ १९ गते क्षमापुजा गर्ने, २१ गते सोह्खुट्टे पाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने, २२ गते भुज्याय मनाउने र साइत हेर्ने तथा सात प्राप्त भएको दिन रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने कार्यक्रम पनि ललितपुरका जातीय संस्थाहरुले तय गरेका छन्।
संयुक्त रुपमा विज्ञप्ति जारी गर्ने संस्थाहरुमा शिल्पकार समाज, स्यस्य समाज, ताम्राकार समाज, सिकःमी समाज, वाराही समाज, राजोपाध्य समाज, तापित समाजलगायत छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।