काठमाडौं– एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार तेस्रो स्थानका लागि किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल बंगलादेशको मिरपुरमा बिहान पौने दश बजे हुनेछ। यसअघि नेपाल बुधबार भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। दोस्रो सेमिफाइनलमा किर्गिस्तानलाई आयोजक बंगलादेशले हराएको थियो।
खेलअघि नेपालका कप्तान इम राना मगरले रिसिभ र ब्लकमा सुधार ल्याउने बताए। उनले भने, 'तुर्कमेनिस्तानविरुद्ध खेलमा हामीले रिसिभ र ब्लकमा निक्कै कमजोर प्रदर्शन गर्यौ। रिसिभ राम्रो हुने हो भने हाम्रा स्पाइकरहरु पनि राम्रा छन्। किर्गिस्तानविरुद्ध हामी यसअघि पनि पराजित भएका छौं। यद्यपी रिसिभ र ब्लकमा सुधार गर्न सकिएको अवस्थामा किर्गिस्तानलाई पराजित गर्ने छौं।'
नेपालका प्रशिक्षक जगदिश भट्ट पनि जित निकाल्नेमा आत्मविश्वासी छन्। उनी भन्छन्, 'किर्गिस्तानको खेल तुर्कमेनिस्तानको जस्तो छिटो छैन । एक/दुई बाहेक उनीहरुका बाँकी खेलाडीको उचाँई पनि हाम्रै जस्तो हो। त्यसैले हामीले अघिल्लो खेलमा गरेका कमजोरीमा सुधार ल्याउने हो भने हामी जितका लायक टोली हौ। हाम्रो प्रयास जितकै हुनेछ। जितका लागि हामीसँग केही योजना पनि छन्। योजनाअनुसारको खेल भए जित सम्भव हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।