काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाको बहिर्गमनसँगै अब उनको स्थानमा को आउँछ भन्ने आँकलन सुरु भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रका दुई पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने पूर्वानुमान धेरैको छ।
बिहीबार बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त एक स्थानमा बामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाको उत्तराधिकारीको खोजी सुरु भएको हो।
बिहीबारको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउन सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै यसअघि गठित विवाद समाधान कार्यदललाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ। साथै सचिवालय बैठकको निर्णय तयारीको जिम्मेवारी अध्यक्षद्वयलाई दिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
भावी अर्थमन्त्रीका रूपमा अर्थ्याइएका पौडेलले मन्त्री छनोटको जिम्मेवारी प्रधानमन्त्रीको भएको उल्लेख गरे। तपाईं अर्थमन्त्री बन्दै हुनुहुन्छ रे हो भन्ने प्रश्नमा उनले भने, 'कसलाई मन्त्री बनाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको हो, यसमा मैले भन्ने केही पनि छैन। प्रधानमन्त्रीले साथीहरूसँग सल्लाह गर्नुहोला। त्यसपछि मात्रै उपयुक्त निर्णय लिनुहोला।'
पौडेलले आफूलाई महासचिवको जिम्मेवारीकै बोझ ठूलो भएको भन्दै मन्त्री बन्नेतर्फ नसोचेको पनि दावी गरे। 'अहिले मलाई पार्टीको महासचिवको कार्यबोझ धेरै छ, त्यसबाहेक अन्य कुरा सोचेको छैन,' उनले भने।
पौडेलबाहेक अर्का नेता पाण्डेको अर्थमन्त्री बन्ने संभावना निकै कम रहेको नेकपासम्बद्ध अधिकारीहरू बताउँछन्। उनी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका हुन्। प्रधानमन्त्रीले आफ्ना विश्वासपात्रलाई नै अर्थमन्त्री बनाउने भएकाले पाण्डेको संभावना नै नरहेको उनीहरूको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।