काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेसँगै जनताले अस्वीकार गरेपनि जनप्रतिनिधी बन्नेको संख्या पाँच पुगेको छ। स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हारेका चार नेकपा नेता यसअघि नै राष्ट्रिय सभा सदस्य बनिसकेका छन्।
गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका एमाले नेता गौतम ७ सय ५३ मतले पराजित भएका थिए। उनलाई नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले हराएका हुन्।
गौतमअघि गोरखाबाट पराजित नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बनिसकेका छन्। उनलाई तत्कालिन नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा ६ हजार ८७४ मतान्तरले पराजित गरेका हुन्।
यसैगरी निर्वाचन हारेर पनि सांसद हुने शौभाग्य पाउनेमध्य दुईजना मेयरमा पराजित छन्।
मेयरमा पराजित हुने भगवती न्यौपानेलाई गण्डकी प्रदेशबाट र विमला घिमिरेलाई प्रदेश ५ बाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्।
न्यौपाने तनहुँ भानु नगरपालिकाको मेयरमा कांग्रेसका उदयराज गौलीसँग पराजित भएकी थिइन्। त्यसक्रममा गौलीले ९ हजार ५३८ मत प्राप्त गरेका थिए भने न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन्।
त्यस्तै घिमिरे कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्। कांग्रेसका मंगलप्रसाद थारुले उनलाई पराजित गरेका थिए।
यसैगरी प्रदेश सभा सदस्यमा हारेका जगप्रसाद शर्मा पनि राष्ट्रिय सभा सदस्य छन्। प्रदेशसभा तर्फ दाङ ३ (क)मा कांग्रेसका डिल्ली चौधरीले शर्मालाई २ हजार ३३६ मत अन्तरले हराएका थिए।
नेकपाले मेयरमा पराजितलाई प्रदेश प्रमुख पनl बनाइसकेको छ। स्थानीय निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजित विष्णु प्रसाईं अहिले प्रदेश ३ प्रमुख छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।