एजेन्सी- विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड ७० लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ।
कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ।
संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ।
सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ।
राष्ट्रसंघीय निकायहरुले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन्। तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो।
सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको संक्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।