फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार साँझ भेट भएको गौतमनिकट स्रोतले जानकारी दिएको छ। उनीहरू बीच ८ बजेसम्म करिब एक घण्टा छलफल भएको स्रोतको भनाइ छ।
भेटमा प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रियसभा सदस्य बन्ने दाबी छोड्न आग्रह गरेका थिए। तर नेता गौतमले आफूलाई पुरानै सहमतिका आधारमा राष्ट्रियसभा सदस्य बनाउन आग्रह गरेका थिए।
'भेटमा दुवै नेताहरुले आ-आफ्ना कुरा मात्र राख्नु भयो। राष्ट्रिय सभाका विषयमा ठोस निर्णय भएन। बाँकी समसामयिक विषयमा छलफल भयो,' स्रोतले भन्यो। ओली हाल अर्थमन्त्री रहेका डा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् भने वामदेव आफूलाई नै सांसद् बनाउनुपर्ने भन्दै लबिङमा छन्।
यसअघि पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग भएको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिनुपर्ने धारणा राखेका थिए। राष्ट्रियसभामा सिफारिस गर्ने व्यक्तिको विषयमा सहमति हुन नसकेपछि प्रचण्डले प्याकेजमा सचिवालयमा सहमति गर्ने भन्दै उठेका थिए।
‘एक एक विषयमा सहमति गरेर हुँदैन। सबै विषयलाई प्याकेजमा हल हुनेगरी समाधानको बाटो खोजौं,’ प्रचण्डको उद्धृत गर्दै उनी निकट एक नेताले भनेका थिए, ‘सबै विषयमा प्याकेजमा हल हुने गरी सचिवालय बैठकमा छलफल गरौं।’
उपाध्यक्ष गौतम आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्ने यस अघिको पार्टीको निर्णय कार्यन्वयन हुनुपर्ने बताउँदै आएका छन्। आफूलाई ओलीले सिफारिस गर्ने छाँट नदेखेपछि गौतमले प्रचण्ड र वरिष्ठ नेताद्य झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटेर लबिङ गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।