काठमाडौं- भलिबलल खेल हारेपछि खेलाडीको हत्या गरेर फरार भएका ५ जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले १० वर्षपछि पक्राउ गरेको छ।
२०६६ फागुन ११ गते म्याग्दी ओखरबोट-३ चिउरीबोट भन्ने स्थानमा महाशिवरात्रीको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोट म्याग्दीले भलिबल प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगिता हारेपछि भएको विवादमा बागलुङको साविक तमान गाविस- ८ का २१ वर्षीय नारायण छन्त्यातको हत्या गरिएको थियो।
हत्यामा संलग्न भएको पुष्टि भएपछि जिल्ला अदालत म्याग्दीले मालिका गाउँपालिका ४ का २७ वर्षीय दलप्रसाद पुन, २९ वर्षीय तिर्थेन्द्र घर्ती मगर, ३३ वर्षीय जीवन घर्ती मगर, २६ वर्षीय दुर्गा बहादुर घर्ती र २८ वर्षीय बलमान घर्तीलाई २० वर्ष अर्थात् जन्मकैदको फैसला सुनाएको थियो।
उक्त हत्याकाण्डमा दोषी ठहर भई फरार भएका पाँचै जनालाई म्याग्दी प्रहरीले कास्कीको पोखराका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा मंगलबार पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दी पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीले फरार पक्राउ अभियानअन्तर्गत पछिल्लो २ महिनाको अवधिमा १९ जनालाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।