काठमाडौं-मोबाइल एप्लिकेशन ‘हाम्रो पात्रो’ ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ। कोभिड-१९ को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्यकर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हाम्रो पात्राले जनाएको छ।
पितृहरुलाई सम्झिँदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा ‘हाम्रो पात्रो’ले इन्टरनेटको प्रयोग गरी एपबाटै सीदा दान गर्ने विधि सार्वजनिक गरेको हो ।
यो सेवाअन्तर्गत हाम्रो पात्रोद्वारा प्रमाणित अनुभवी वैदिक गुरुहरुले घरमै बसी भिडियो कलमार्फत् सीदा दानको प्रक्रिया सम्पन्न गर्न सघाउनेछन्। ‘हाम्रो अनलाइन ज्योतिष’ सेवाअन्तर्गत प्रविधिको प्रयोग गरी यो कार्य गर्न सकिनेछ।

‘अहिलेको विषम परिस्थितिमा पितृ स्मरणका लागि विशेष १६ श्राद्धको प्रक्रियाबाट वञ्चित हुनुभन्दा सीदा दान गरी पितृहरुलाई तृप्त गराउनु उपयुक्त हुनेछ’, ज्योतिष गुरु नारायणप्रसाद दुलाल भन्छन्, ‘यसो गर्दा कम्तिमा पनि पितृहरुको दोष लाग्ने छैन र पुण्य प्राप्त गर्न सकिनेछ।’
उनका अनुसार तर यो श्राद्ध, पिण्ड दान र तर्पण भने होइन। ‘सबैका लागि वैदिक गुरुहरु भौतिक रुपमा नै बोलाएर श्राद्ध तथा सीदा दान गर्न सम्भव नभएको अवस्थामा यो सुविधा उपयुक्त हुनसक्छ। यस अघिका समयहरुमा पनि समय नहुने अथवा देशदेखि पर भएकाहरुले मठ मन्दिरमा गएर अथवा नजिकैको गुरु पण्डितहरु भएको स्थानमा गएर पितृहरुको भोजन भागस्वरुप पँहेलो दाल, चामल, घ्यू, तेल, तरकारी लगायतका अन्य चोखो सामग्रीहरु भाग लगाएर पितृलाई सम्झेर दान दिने गरिन्छ,’ उनले भने।
दुलालका अनुसार नेपाली समयानुसार बिहान ५ बजेदेखि मध्यान्ह १ बजेसम्म तथा विदेशमा रहेका धर्मप्रेमीहरुका लागि नेपाली समयानुसार राति ७ देखि १० बजेसम्म यो सेवा उपलब्ध हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।