काठमाडौं-मोरङको विराटनगर-४ कंचनवारी क्षेत्रबाट अटोमेटिक पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ वर्षीय अभिषेक राय, २८ वर्षीय रवीन शर्मा, २६ वर्षीय किसन साह, सप्तरी बोदेबसाइन-८ का २७ वर्षीय नन्दकिसोर साह र भारत बिहारकाे सीतामढीका २७ वर्षीय राजु साह छन्।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साँझ पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाइल सेट, १ थान चक्कु, भारतीय बैंकका चेक, नगद नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाे यो समूहले संगठित रुपमा आपराधिक समूह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाकधम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजाना, आपराधिक लाभ, चोरी तथा संगठित अपराधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङका विभिन्न स्थानहरुबाट मोबाइल हराएको तथा चोरी भएको भन्ने विभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाईल सेटहरु समेत फेला पारी बुधबार नै सम्बन्धित धनीहरुलाई बुझाइएको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।