काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को बोर्ड बैठकमा नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन हटाउने विषयमा छलफल भएको छ। भारतको कोलकतामा भएको आइसिसीको बोर्ड बैठकमा क्यानको विषयमा छलफल भएको हो।
'बोर्डमा नेपालको पछिल्लो अवस्था र क्यानमाथि लागेको निलम्बनको बारे अपडेट भयो,' आइसिसीको मिडिया रिलिजमा भनिएको छ, 'क्यानको भर्खरै सकिएको विशेष साधारणसभाले सल्लाहकार समूहले बनाएको विधान पारित गरेको छ। क्यानले फेरि सदस्यता पाउन नयाँ संविधानअनुसार निर्वाचन गर्नु पर्नेछ।'
यसअघि गत बिहीबार क्यानको सल्लाहकार समूहले प्रस्ताव गरेको विधान हुबहु पारित गरेको थियो। साधारणसभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो।
निर्वाचन प्रक्रियामा जानका लगि ५ सदस्यीय मनिटरिङ समिति बन्नु पर्नेछ। यसअघि निर्वाचन भइसकेका जिल्लालाई मान्यता दिने बताइएको छ। विवाद र उजुरी परेका जिल्लामा भने मनिटरिङ समितिले छानबिन गर्नेछ। विवादित जिल्लामा समितिले मान्यता दिन वा फेरि निर्वाचन गर्न निर्देशन दिन सक्नेछ।
जिल्लाको निर्वाचनपछि प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ। केन्द्रीय समितिको निर्वाचनपछि आगामी जुलाईमा बस्ने आइसिसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश हुनेछ।
आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।