काठमाडौं-सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुसको मोलमोलाइको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफूले सहयोग गर्ने बताएका छन्।
अख्तियारले बयानका लागि ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेपछि मिश्रले विज्ञप्ति निकालेर आफू सहयोगका लागि तयार रहेको बताएका हुन्।
आफू अख्तियारलाई बुझाउनकै लागि रेकर्डिङ डिभाइस लिन जापान गएको भन्दै उनले आफू जापान नभागेको पनि उल्लेख गरेका छन्।
अख्तियारले बुधबार मिश्रको नाममा सार्वजनिक सूचना प्रकाशित गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ।
'म कसैको दबाबमा बहकिने मान्छे होइन, एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्नुपर्ने कुरा मलाई राम्ररी थाहा छ,' उनले विज्ञप्तिमा भनेका छन्।

मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरूसँग आफ्नो नियमित सम्पर्क भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा आफूसँग घुसको मोलमोलाइ गरेको अडियो रेकर्ड गरी मिश्रले सार्वजनिक गरेका थिए। अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
उनलाई संसदको सार्वजनिक लेखा समितिले समेत विज्ञ भन्दै सेक्युरिटी प्रिन्टिङ प्रेसको छलफल गरेको थियो।
सम्बन्धित समाचार
सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड भ्रष्टाचार प्रकरण : अख्तियारले बोलायो विजयप्रकाश मिश्रलाई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।