काठमाडौं- बंगलादेशले नेपाललाई ५० हजार मेट्रिक टन मल पैँचो दिन सहमति जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी शेख हसिना वाजेदबीचको टेलिफोन वार्तामा बंगलादेशले नेपाललाई मल पैँचो दिन सहमति जनाएको हो।
नेपालले करिब एक महिनायता बंगलादेशसँग मल मागेको थियो। कृषि विकास मन्त्रालयले त्यहाँको कृषि मन्त्रालयसँग मल सापटी मागेको थियो। बंगलादेशी कृषि मन्त्रालय मल दिन तयार भए पनि एकपटक प्रधानमन्त्री तहमै वार्ता गर्नुपर्ने शर्त राख्यो।
बंगलादेशी पक्षको आग्रहअनुसार ओली र वाजेदबीच मंगलबार टेलिफोनमा कुराकानी भयो। जसमा वाजेदले मल फिर्ता दिने सहमति जनाइन्।
किन पुगियो बंगलादेश?
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सुरुमा भारतसँग नै मल माग्न खोजेको थियो। तर भारतीय पक्षले यसवर्ष आफूसँग मागभन्दा २० लाख मेट्रिक टन मल मौज्दात कम रहेको जानकारी नेपाललाई गरायो।
त्यसपछि नेपालसँग ठेक्का लगाएर मल किन्ने कि सरकार-सरकार (जिटुजी) सम्झौता गरेर मल ल्याउने दुईवटा विकल्प थियो।
कृषि मन्त्रालयले ठेक्का लिएका ठेकेदारले धोका दिएको र जिटुजी गर्दा विवादमा पर्ने डरले पैँचो माग्ने तेस्रो विकल्प रोज्यो। 'अहिलेका लागि यो विकल्प नै उत्तम देख्यौं,' कृषि विकासमन्त्री घनश्याम भुसालले नेपाल लाइभसँग भने।
तत्काल बंगलादेशसँग मल माग्ने र आफूले खरिद गर्ने मल उता पठाउने गरी दुई देशबीच सहमति भएको छ। त्यसअनुसार बंगलादेशबाट केही दिनमा नेपाल मल आइपुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।