हेटौंडा- रौतहटको गरुडा नगरपालिका–८ का १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार फिरोजमिया धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परेका छन्।
उनीहरूलाई एक महिनाको लागि निलम्बन गरिएको हो। २० वर्षीय निरन्जन रामको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको घटनामा साउन ३२ गते विजयलाई इलाका प्रहरी गरुडाले पक्राउ गरेको थियो।
पक्राउ परेका विजय प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै आफन्तले यातना दिने प्रहरीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए। अब उनीहरूमाथि अनुसन्धान हुने रौतहटका एसपी रविराज खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।