काठमाडौं- महानगरीय ट्राफिक महाशाखाले सडक दूर्घटना न्यूनीकरण गर्नका लागि उपत्यकाका विभिन्न स्थानमा २२ वटा काल्पनिक ट्राफिक प्रहरी (डमी) बनाएर राखेको छ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा डमीहरू राखिएको जनाएको हो।
डमीको हातमा ट्राफिक नियम उल्लङ्घन गरेमा ५०० देखि १०,००० रूपैयाँसम्म जरिवाना हुने जानकारी लेखिएको बोर्ड पनि देख्न सकिने महाशाखाले जनाएको छ।
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए। नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए।
त्यस्तै, महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न सडकखण्डमा कोरोना संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डहरू पनि राखेको छ। उक्त बोर्डमा सकेसम्म सामाजिक दुरी कायम राखौँ, कोरोना विरूद्धको स्वास्थ्य मापदण्ड सधै पालना गरौँ, जोर विजोर नियमको पालना गरौँ, सधै मास्क लगाएर हिडौँ, अनावश्यक हिड्डुल नगरौँ, ट्राफिक नियमको पालना गरौँ जस्ता सन्देशहरू उक्त बोर्डमा लेखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।