काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हरेक स्थानीय तहमा एक पुस्तकालय बनाउन विभागीय मन्त्रीको हैसियतले संयोजन गर्ने बताएका छन्। ‘समाज रुपान्तरणको लागि पुस्तकालय’ भन्ने नाराका साथ आयोजना भएको १३औँ पुस्तकालय दिवसको अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले हरेक स्थानीय तहमा पुस्तकालय बनाउन आफूले संयोजन गर्ने बताएका हुन्।
‘एक स्थानीय तह एक पुस्तकालय बनाउनु पर्ने अहिलेको आवश्यकता हो। भौतिक मात्र नभएर ई-पुस्तकालय पनि अहिलेको आवश्यकता बनिसकेको छ,’ मन्त्री पोखरेलले भने, ‘पुस्तकालय बनाउन तिनै तहको उतिकै भूमिका हुने भएपनि विभागीय मन्त्रीको हैसियत र व्यक्तिगगत रुपमा पनि शिक्षा मन्त्रालयले संयोजन गर्नेछ।’
शिक्षामन्त्री पोखरेलले जमलमा बन्ने भनेका राष्ट्रिय पुस्तकालय रोक्का भएको कुनै व्यापारिक प्रयोजनको लागि नभई पुरातत्विक महत्वको विषय भएकाले रोकिएको आफूलाई जानकारी आएको बताए। ‘जमलमा राष्ट्रिय पुस्तकालय भवन निर्माणको काम रोकिनुमा पुरातत्विक स्थान बन्न भनेको सुनेको छु,' पोखरेलले भने, ‘मेरो आफ्नो तर्फबाट पुस्तकालय भवन छिटै निमार्ण हुनुपर्छ भनेर सक्दो गरिरहेको छु।’
राष्ट्रिय पुस्तक नीति, पुस्तकालय गुरूयोजना तथा पुस्तकालय स्वचालीकरण योजना चाँडै कार्यान्वयन गर्ने प्रतिबद्धता पोखरेलको व्यक्त गरे। सो अवसरमा डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका अध्यक्ष इन्दिरा दलीले सार्वजनिक पुस्तकालयको विकास र विस्तारमा सरकारको भूमिका बढ्नु पर्ने, आवश्यक कानूनहरू पनि निर्माण गरिदिन माग गरिन्।
४ जना सम्मानित
सो अवसरमा पुस्तकालय अभियन्ता तथा नेपाल पुस्तकालय संघका संस्थापक अध्यक्ष मुरारिविनोद पोखरेल, पुस्तकालयकर्मी चन्द्रकिरण श्रेष्ठ तथा नेपालको प्रदेश नम्बर एकको झापा जिल्लाको धुलाबारीमा रहेको त्रिफला राष्ट्रिय पुस्तकालयलाई वर्षको उत्कृष्ट पुस्तकालयका रूपमा कदर गरियो।
नुवाकोटको बेलकोट गढी नगरपालिका १० की कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेललाई प्रशंसापत्रबाट सम्मानित गरियो। एसिया फाउन्डेसनबाट विभिन्न पुस्तकालयहरूलाई पनि पुस्तक हस्तान्तरण गर्ने घोषणा गरिएको थियो।
वि.सं. १८६९ भदौ १५ गते राजा गीवार्णयुद्ध विक्रम शाहले पुस्तकालय सम्बन्धी लालमोहर जारी गरी ‘पुस्तक चिताइ तहबिल’ को स्थापना गरेको हुनाले सोही दिनलाई आधार मानेर नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।