रौतहट- रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले अवैधानिक रूपमा भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई रोक्न नसकिएको भन्दै चिन्ता प्रकट गरेका छन्। भारतबाट अवैधानिक रूपमा नेपाल प्रवेश गर्नेहरूलाई रोक्न नसक्दा कोरोना संक्रमणको जोखिम फैलिएको उनले बताएका हुन्।
'अहिले नगरको अवस्था सामान्य छ। पहिलो स्टेजमा ३ जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिले १ जना सङ्क्रमित हुनुहुन्छ,' उनले भने, 'भारतबाट आउनेहरूलाई व्यवस्थित गर्न नसक्दा संक्रमण जोखिम बढी नै छ।'
लकडाउनपछि भारतबाट आउनेहरूका लागि २ हजार बेड क्षमताको क्वारेन्टाइन बनाएको उनले बताए। तर हाल ५ सय बेड क्षमतामा सीमित गरेको उनको भनाइ छ। अब क्वारेन्टाइनमा बस्ने पनि घटेको र सरकारले पनि होम क्वारेन्टाइनको नीति लिएको उनको भनाइ छ। जिल्ला भर २ सय २० बेड आइसोलेसनका लागि तयार पारिएका छन्।
'सिमा नाका टाइट भएपछि पहिलेको तुलानामा आवातजावत कम त भएको छ तर चोर बाटोबाट आउनेले हैरान पारेका छन्,' उनले भने।
नागरिकहरू सचेत भएकैले कोही भारतबाट आए भने नगरमा खबर गर्ने गरेको उनले बताए। 'भारतबाट आएका अधिकांशलाई पिसिआर परीक्षण गरिएको छ,' उनले भने।
जिल्ला भर निषेधाज्ञा गरिएको छ। ग्रामीण क्षेत्र भएकाले खासै प्रभाव त नपरेको उनको भनाइ छ। 'हामीले भेला हुने, हाट बजार लाग्न भने दिएका छैनौँ।
नगरपालिकाले कोरोना नियन्त्रण रोकथामको लागि १ करोड ५० लाख छुटाएका थियौँ,' उनले भने, 'यो रकम क्वारेन्टाइन बनाउन, किट किन्न,आइसोलेसन बनाउन, राहत वितरण गर्न, स्वास्थ्यकर्मीको भत्ताका लागि खर्च गरेका छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।