सांकेतिक तस्बिर
काठमाडौं–पहिरोले कालिकोटको तिलागुफा–१ नाग्ममा चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ। घटनामा २ जना बेपत्ता छन्।
घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले बताए।
नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन्। पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० जनाको शव फेला परेको हो।
शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको पनि मृत्यु भएको छ। ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घरभित्रै च्यापिँदा मृत्यु भएको हो।
यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको सहायक प्रजिअ गुरागाईंले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।