भैरहवा- कोरोनाको संक्रमण बढेपछि स्थानीय प्रशासनले भेला हुन, कार्यक्रम गर्न तथा अति आबश्यकबाहेकका काममा ननिस्कन आग्रह गरेको छ। तर, हालै सुरु भएको फुड बैंकमा भने मानिसहरूको भिड लाग्ने गरेको छ। मायादेवी च्यारिटेबल फाउन्डेसनले भैरहवाको गल्लामण्डीमा संचालन गरेको फुड बैंकमा भिडाम्भिड देखिएको हो।
सेवा गर्ने मनसायले खोलिएको फुड बैंकमा मानिसहरू सचेत नबन्दा भिड बढेको हो। भिड बढेसँगै कोरोना संक्रमण फैलाउने त्रास बढेको छ।
उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारायणप्रसाद भण्डारीले समाज सेवाको नाममा खोलिएको फुड बैंकमा लागेको भिडले समुदायमा कोरोना फैलने भन्दै स्थानीय प्रशाशनको ध्यानाकर्षण हुनु पर्ने जोड दिए।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेमकुमार थापाले खाद्य बैंकमा देखिएको भिडले समुदायस्तरमा कोरोना फैलिन सक्ने भन्दै यसलाई रोकिने बताए। फाउन्डेसनका अध्यक्ष रविकुमार रौनियारले शुरुका केही दिन भिडभाड भएपनि अहिले भने भिडभाड नभएको बताए।
रुपन्देहीमा पछिल्लो केही समययता कोरोना संक्रमणको दर निकै बढेको छ। जिल्लामा प्रत्येक दिन नयाँ संक्रमित थपिएका छन्।
जिल्लामा कोभिड संक्रमितको संङख्यामा निरन्तर वृद्धि भएपछि रुपन्देहीका सबै पालिकाहरुको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ १४ गते –आज) राति १२ बजे सम्मका लागि जिल्लाभर निशेषाज्ञा जारी गरेको छ। कतिपय पालिकाहरूले यो अवधिलाई थप एक साता लम्ब्याएका पनि छन्।
कतिपय पालिकाहरुले त पसलहरु खोल्दा भिडभाड हुने र त्यसका कारण कोभिड १९ को संक्रमण समुदाय स्तरमा अझै विकराल रुपमा फैलिन सक्ने भन्दै दूधजन्य र औषधीजन्य पसलबाहेकका सबै पसल बन्द गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।