काठमाडौं- आन्तरिक रोजगारी प्रवर्द्धनका लागि अघि सारिएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ८२ हजार ६ सय ३८ जनाले रोजगारी पाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
उनीहरुले कति दिनको रोजगारी पाए भन्ने सम्बन्धमा मन्त्रालयले खुलाएको छैन। ७ सय १ स्थानीय तहका ८२ हजार ६ सय ३८ श्रमिकले गत आर्थिक वर्ष २०७६/०७७ मा रोजगारी पाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताए।
त्यस्तै चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवाहरुलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्न आफू प्रतिबद्ध रहेको मन्त्री यादवले बताए।
चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको छ।
त्यसैगरी विश्व बैंकले समेत नेपालमा रोजगार सेवा विस्तार कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराएको करिब १४ अर्ब रुपैयाँ बराबर ऋण यसै कार्यक्रममा खर्च गर्ने सम्झौता भइसकेको छ।
रोजगारीका सिर्जनाका नाममा राज्यकोषको अर्बौं रुपैयाँ खर्चिँदै आएको यो कार्यक्रम उपलब्धीमूलक भने हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।